प्रधानमन्त्री ज्यू, हामीलाई पढाउन सिकाइदिनुस् !
सम्माननीय प्रधानमन्त्रीज्यू !
केही दिन अघि तपाईले नेपालका सरकारी विद्यालयका शिक्षकहरुप्रति गर्नुभएको कटाक्षले हामी केही इमान्दार शिक्षकहरुलाई साह्रै लज्जित बनाएको छ । यसमा हामीले हाम्रो जिम्मेवारी र सरोकार अनुरुपको जिम्मेवारीबोध गर्नैपर्छ, गरिरहेका छौं । उसो त हामीलाई तपाईले कटाक्ष गरेपछि मात्रै लज्जबोध भएको हैन त्यसअघि पनि निरन्तर हुनेगथ्र्यो र आजपनि उस्तै लज्जबोध छ । तपाईंजस्ता सरोकारवाला त कुनै खास तहको परिक्षाको नतिजाको अंकलाई हेरेर मात्रै शिक्षकलाई कटाक्ष गर्नुहुन्छ र चैनको निद्रा निदाउनुहुन्छ । तर हामीलाई परिक्षाको नतिजाले मात्रै वेचैन बनाउँदैन । हाम्रो वेचैनीका विषय धेरै छन् । हामी आफुले जाने जति र सकेजति मेहनत र समर्पणका साथ काम गन खोज्छौं । तर हरेक दिन कक्षकोठामा प्रवेश गरेदेखि नै हाम्रो बेचैनी सुरु हुन्छ । कक्षामा प्रवेश गर्नेबित्तिकै बेन्चहरुमा आधाआधीको संख्यामा मात्रै बालबालिकाहरु उपस्थित देखिन्छन् । अनुपस्थितिको कारण सोधखोज गर्दा बालकालिकाहरु घरायसी कामकाजका लामै फेहरिस्त सुनाउँछन् । उनीहरुको घरायसी काम समाधान गरिदिने उपाय हामी शिक्षकसँग हुँदैन । मन त्यसै त्यसै खिन्न हुन्छ । उपस्थित बालबालिकाको गृहकार्य जाँच गर्दा आधा भन्दा बढी बालबालिकाले गृहकार्य गरेका हुँदैनन् । कारण सोध्दा घरायसी समस्याकै फेहरिस्त सुन्नुपर्छ । आधा विद्यार्थी विभिन्न प्रकारका शारिरक र मानसिक रोगव्याधी र समस्याहरु भोगिरहेका हुन्छन् । अभिभावकहरुलाई सहजीकरण गर्ने बालबालिकाको सिकाईप्रति जागरुक बनाउने नीति कार्यक्रम न विद्यालय प्रशासन, व्यवस्थापनसँग छन्, न स्थानीय सरकारसँग छन् न त तपाईले सम्हालेको संघीय सरकारसँग नै छन् ।

प्रधानमन्त्री ज्यू, रुखका जरामा तरुनी तन्नेरी जिस्क्याउँदै पढाई गरिने तपाईको किशोरवयको समय आज रहेन । प्रविधिको बिकासले बालबालिकाका रुचि, चाहना र आवस्यकतालाई धेरै परिवर्तन गरिसक्यो । कक्षा कोठामा हामीसँग भएको फाटोमैले बोर्ड र मार्करले मात्रै कक्षामा उपस्थित बालबालिकालाई रुचिपूर्वक बस्ने र सिक्ने परिस्थितिको निर्माण गर्न हामी सकिरहेका छैनौं । उपयुक्त शैक्षिक सामग्री भैदिएको भए सिकाइमा धेरै सुधार गर्न सक्थ्यौं भन्ने हुटहुटी हाम्रा मनमा छ । तर त्यो न कसैले हामीलाई सोध्छ, न त हामीले अनुनय विनय गर्दा कसैले व्यवस्थापन गरिदिन्छ ।
प्रधानमन्त्री ज्यु ! तपाईकै कार्यकर्ता र तपाईंकै प्रबृत्तिका स्थानीय तहका धेरै जनप्रतिनिधिहरु अहिले धमाधम लोकप्रिय स्टन्टका फरमान जारी गरिरहेका छन् – “सरकारी विद्यालयका शिक्षकहरुले आफ्ना बालबालिकाहरुलाई नीजि विद्यालयमा पढाउन पाइने छैन !” मलाई आफ्नै बाल्यकालको सम्झना आउँछ । कुनै बिकट गाउँमा, फाटेको दौराको फेर च्याप्दै, खाली खुट्टा दगुर्दै विद्यालय पुगेर धुलोमैलो भुईंमा बसेर बढ्दै हुर्केको मान्छे हुँ म । तर गाउँका सरकारी विद्यालयमा भुईं र भित्ता थोरै पक्कि बने पनि कक्षाकोठाको धुलोमैलो र बाटो चौरका ढुङ्गामुढा आज पनि उस्तै छन् । बजार क्षेत्रको एकाध विद्यालय बाहेक अधिकाँश विद्यालयमा बालबालिकाहरुका लागि खाने पानी छैन, सौचालय छैनन्, आराम कक्ष छैन, खेल्ने खुला चौर र खेल सामग्री छैनन्, खाजा खाने व्यवस्था छैन । करिबकरिब मेरो बाल्यकालको जस्तै नियति आज पनि सरकारी विद्यालयका बालबालिका भोगिरहेका छन् ।
मेरो पनि पाँच वर्षको छोरा छ । मलाई उसको बहुत माया लाग्छ । मेरो पनि चाहना थियो, आफैले पढाइरहेको विद्यालयमा आफुसँगै छोरोलाई पनि हात समउँदै ल्याउन लैजान सकुँ । तर हरबखत मेरा मनमा हुन्छ –मैले भोगेजस्तो दुख मेरो छोराले भोग्न नपरोस् । टिनका छानामुनि धुलोमाटोका कोठामा उकुसमुकुस हुने गरी मेरो छोरो बसेको सम्झिदा पनि मेरो निधारमा खल्खल्ती पसिना आउँछ । उबेला मेरा पैतलामा बिझेजसरी मेरो सानो छोराको पैतलामा काँडा वा ढुङ्गा बिझेको सम्झदा मेरो मुटुमै बिझाउँछ । म चाहन्छु मेरो छोराले बस्ने कक्षा सफा चिटिक्क होस्, अघिल्तिर उसले आफ्नै हातले चलाउन सक्ने गरी इन्टरनेटको सुविधा भएको एक स्मार्टबोर्ड होस्, खेल्ने रमाउने यथेष्ट अवसर र सामग्री विद्यालयमा होउन, दिसाँपिसाव लाग्दा सजिलै जान सक्ने सौचालय होस्, तिर्खा लाग्दा सफा पानी पिउन पाओस्, भोक लाग्दा आफ्नो रुचिको खाजा खान पाओस् ।
तर यो सब सुविधाहरु न मैले पढाइरहेको विद्यालयमा छन् न त घरपरिवार नजिकैको विद्यालयमा । ती विद्यालयका बालबालिकाहरुले पाइरहेका दूख देखेर म छोरालाई त्यहाँ लैजान हिम्मत गर्दैन । जतिसुकै पसिना बगाएर पनि म मेरो अबोध छोरोलाई सहज र सुविधा हुने विद्यालयमा पढाउन चाहन्छु । सुविधापूर्ण ठाउँमा सहजतापूर्वक पठनपाठन गर्न पाउने मेरो छोरोको नैसर्गिक अधिकार पनि हो । नेपालले हस्ताक्षर गरेका धेरै अन्तराष्ट्रिय सन्धी सम्झौताहरुमा पनि उसको अधिकार सुरक्षित गरिएको छ । राज्यले, व्यवस्थाले या यदाकदा मैले समेत गरेका कमजोरीहरुको सजाय मेरो छोराले भोग्नुपर्ने कुनै वाध्यता छैन । यदि मैले मेरो पेसामा कुनै गल्ति कमजोरी गरिरहेको छु भने पनि त्यसको सजाय या सुधारको लागि म स्वयं जिम्मेवार छु, मेरो छोरो त्यसको भागिदार कदापी हुन सक्दैन ।
मेरो छोरो मात्रै हैन, सराकारी विद्यालयमा मेरै आँखा अघिल्तिर दूख भोगिरहेका कुनै पनि बालबालिका त्यो दूखबाट मुक्त हुन पाउनुपर्छ, सुविधा र सहजतासाथ पठनपाठन गर्न पाउनुपर्छ भन्ने मेरो उत्कट चाहना छ । तर अधिकारविहिन शिक्षकले चाहेर मात्र त्यो व्यवस्थापन सम्भव छैन । प्रधानमन्त्री ज्यु, तपाईले चाहनुभयो भने यो कुरा सम्भव थियो, तर तपाई चाहनुहुन्न । तपाईलाई राष्ट्रका वर्तमान र पूर्व विशिष्ट व्यक्तिहरुलाई सेवासुविधा कम भएकोमा चिन्ता छ, अर्बपति उद्योगी व्यापारीहरुले राज्यलाई अलि बढि कर तिर्नुपरिरेको प्रति चिन्ता छ । तपाईले चिन्ता गरेका विषयहरु धमाधम व्यवस्थापन भैरहेका छन् । तर तपाईलाई देशका हजारौं अबोध बालबालिकाहरु फाटोमैलो लुगा लगाएर सिंगान बगाउँदै धुलोमाटोका कक्षाकोठामा भोकभोकै दिन बिताइरहनुपरेको तथ्यप्रति कुनै चिन्ता छैन ।
मानव जातिकोे पारिवारिक सभ्यतामा सबभन्दा पहिले ससाना बालबालिकाको स्याहारसुसार गरिन्छ । घरमा मीठोमसिनो पाक्यो भने सबैभन्दा पहिले साना बच्चाहरुलाई खुवाइन्छ, त्यसपछि ठूलाबलियाहरु खान्छन् । चाडपर्वमा सबैभन्दा पहिले बालबालिकाहरुला लागि नयाँनौलो लुगाकपडा सिलाइन्छ । बच्चाहरुलाई सुत्ने् ओछ्यान ठीकठाक पारेपछि मात्रै ठूलाबडाहरु आफ्नो जोहो गर्छन् । बालबालिका लाई सानोतिनो चोटपटक या बिराम लागिहाले पनि आमाबुवाहरुलाई पीर सुर्ता बढ्छ, तुरुन्तै त्यसको उपचार गरिन्छ बरु ठूलाबलिया मान्छेहरु हप्तौसम्म पनि आफ्नो बिमार च्यापेर सहेर बसिरहेका हुन्छन् । यो हाम्रो घरको कुरा मात्रै हैन, राष्ट्रिय अन्तराष्ट्रिय कानूनहरुले पनि बालबालिकाहरुलाई पहिलो प्राथमिकतामा राखेका छन् । हरेक विकसित र सभ्य मुलुकमा बालबालिकाहरुका लागि राज्यले यथेष्ट लगानी र व्यवस्था गरेको छ । तर बिडम्बना हाम्रो देशका शासकहरु यति क्रुर र निर्दयी छन्, उनीहरु सेवासुविधाहरु जति ठूलाबडालाई दिन्छन् र देशका लाखौं अबोध बालबालिकाहरुलाई नाङ्गैभोकै राख्छन् । हेर्नुस् त, देशका राष्ट्रपति, प्रधानमन्त्री देखि वडाका कार्यालयसम्मका नेता र कर्मचारीहरुका कार्यालयहरु व्यवस्थापनमा कत्रो लगानी छ । एक औषत दर्जाको जनप्रतिनिधि र एक निम्न तहको निजामति कर्मचारी बस्ने कार्यालय स्थापना हुने बत्तिकै त्यहाँ गुणस्तरीय फर्निचर, महङ्गा कार्पेट, एसी, हिटर, आकर्षक जिन्सी सामानहरु, सवारी आदिको व्यवस्थापन कति दु्रत रुपमा हुन्छ ? तर नजिकै रहेका सरकारी विद्यालयका कक्षाहरुमा अबोध बालबालिकाहरु कति दयनिय अवस्थामा बसिरहेका हुन्छन् ? कैलेकाहीं आउने झिना बजेटहरुमा पनि आफ्नो स्वार्थ अनुरप प्रयोग गर्न दलका कार्यकर्ताहरुले हदैसम्मको दखल राख्छन् । यस्ता तथ्य तपाईलाई थाहा हुँदैनन् कि थाहा पाएर पनि तपाईको हृदय दुख्दैन ? दैनिक जीवनयापनका लागि सेवासुविधाको पहिलो हकदार अबोध बालबालिकाहरु हुन कि मोटाबलिया मान्छेहरु ?
प्रधानमन्त्री ज्यु, तपाईलाई थाहा छ कि छैन, नेपालमा शिक्षण मात्र यस्तो पेसा हो जहाँ शिक्षकलाई नियुक्तिपत्र हातमा थमाएर सिधै कक्षाकोठामा पठनपाठन गर्न पठाइन्छ । न सेवा प्रवेश तालिम, न सेवाकालीन तालिम, न व्यक्तित्व बिकासका तालिम, न सीप र क्षमता बिकासका कुनै प्रशिक्षण न त प्रोत्साहन र पुनर्ताजगीको कुनै अवसर । विश्वविद्यालय र सेवा आयोगका प्राविधिक प्रश्नको उत्तर लेखेर उत्तिर्ण भएको एक व्यक्ति सिधै कक्षाकोठामा जान्छ र जुनिभर आफुलाई जे आउँछ त्यही पढाउँछ । बिडम्बना, पढाउनु छ नितान्त आफ्नो व्यक्तिगत ज्ञानसीप र बलबुताले तर नतिजा दिनु छ – तपाई सरकारहरुले भनेजस्तो ! यो कसरी सम्भव हुन्छ ? अनि तपाई कटाक्ष गर्नुहुन्छ – “शिक्षकहरु राम्रो पढाउँदैनन् !” शिक्षकलाई त जुनीभर अनुभूति नै हुँदैन कि राम्रो कसरी पढाइन्छ ! राम्रो यसरी पढाउनुपर्छ भनेर सिकाइदिने कुनै संयन्त्र छैन यो देशमा । विद्यालयमा निरन्तर बज्ने घण्टीको चालमा एक शिक्षक वर्षौं आफ्नै भाका गाउन विवश छ । उसलाई न कसैले अघिल्लो शैक्षिक सत्रको समिक्षा गराउँछ, न कसैले आगामी शैक्षिक सत्रको योजना माग्छ, न त कक्षाकोठामा पठनपाठनमा उसले भोगिरहेको समस्या सोध्छ न त उसले माग गरेका कुनै आवस्यकता नै कसैले परिपूर्ति गरिदिन्छ । सबै सरोकारवालाले गर्छन केवल उही कटाक्ष – शिक्षकले पढाउँदैनन् ! आज शिक्षण पेसामा तपाईलाई आफ्नै कार्यकर्ता जस्ता लाग्ने व्यक्ति मात्र छैनन् । चालु राजनीतिक अस्तव्यस्तताप्रति वितृष्णा पलाएका तर पेशागत क्षेत्रमा केही असल गर्ने चाहना भएका धेरै युवा यो पेसामा आएका छन्, तर तिनका आवाज कस्ले सुन्ने ? तिनको सीप क्षमताको सदुपयोग कस्ले गर्ने ?
प्रधानमन्त्री ज्यू, आज गाउँबस्तीका सयौं विद्यालयमा विद्यार्थी छन्, शिक्षक दरबन्दी छैनन् । व्यवस्थापनले जेनतेन निर्माण गरेका करार नीजिस्रोत दरबन्दी छन्, शिक्षक छैनन् । बाह« पन्ध्र पटक विज्ञापन गर्नु सामान्य भैसक्यो । जेनतेन खोजविन गरेर हातपाउ जोजेर ल्याएका शिक्षक दुईचार महिनाभन्दा बढी विद्यालयमा टिक्दैनन् । त्यहाँ वर्तमानमा चाहिने सेवासुविधा छैन, भविष्यको कुनै सुरक्षा छैन । युवाहरु खाडीको गर्मीमा रगत पसिना बगाउन तयार छन् तर गाउँको विद्यालयमा गएर शिक्षक बन्न तयार छैनन् । प्राज्ञिक ज्ञान र रुचि भएको केही युवाहरु शहरका निजि विद्यालयमा शिक्षक बन्छन तर गाउँ जाँदैनन् । शहरका रम्रा भनिएका निजि विद्यालयमा शिक्षकले पाउने पारिश्रमिक र गाउँका सरकारी विद्यालयमा शिक्षकले पाउने पारिश्रमिक, सेवासुविधा कहिले अध्ययन मनन गर्नुभएको छ ? सेवा आयोगमा उत्तिर्ण भएको एक शिक्षक व्यक्तिगत पारिवाकि अवस्था सुधारका लागि वषौं रुमल्लिइरहेको हुन्छ तर सँगै खरिदारमा उत्तिर्ण भएको एक निजामति कर्मचारी दुईचार वर्षमै टोलछिमेकको ‘धनिमानी र ठूलाबडा’मा दर्ज भैसकेको हुन्छ । अनि कोही दक्ष युवा किन शिक्षक बन्न तयार हुन्छ ?
प्रधानमन्त्री ज्यु, शिक्षकसेवा आयोगको परिक्षा उत्तिर्ण गरेपछि मेरो नियुक्ती घरदेखि निकै टाढा कुनै दुर्गम गाउँको विद्यालयमा भएको छ । मलाई थाहा छैन, मजस्ता साधारण शिक्षकले यहाँ कति वर्ष बिताउनुपर्ने हो । शिक्षकको सरुवा बढुवा सम्बन्धी व्यवस्थित र प्रभावकारी नीति राज्यसँग केही छैन । पहुँचवालाहरु शहरका सुविधासम्पन्न विद्यालयमा पान गुट्खा चपाएर जुनी बिताइदिन्छन् तर पहुँच नहुने र इमान्दार भएर कक्षाकोठामा काम गर्ने शिक्षकहरु दूरदराजका विद्यालयहरुमा नैराष्यतामा दिन गुजारीरहेका छन् । वर्षौंसम्म यस्तो अवस्थामा बस्नुपर्दा अधिकांश शिक्षकहरु विद्यालयको सुधारभन्दा व्यक्तिगत, पारिवारिक व्यवस्थापनको समस्याले डिप्रेसनमा पुगिसेका हुन्छन् । के यी समस्याको उचित व्यवस्थापन गर्नु आवस्यक छैन ।
पछिल्लोपटक प्रधानमन्त्री भए लगत्तै तपाईले उद्घोष गर्नुभएको थियो – “अब विद्यालयको नतिजा सुधार हुन्छ, आगामी वर्षहरुमा एसइइको नतिजा हामी सुधार गरेर देखाउँछौं !” तपाईको उद्घोष सुनेर धेरै शिक्षक, बालबालिका र अभिभावक खुशी र आशावादी भएका थिए । तर प्रधानमन्त्री बनेदेखि आजका दिनसम्म शिक्षकको क्षमता विकास र कक्षाकोठाको अवस्था सुधारका लागि तपाईले के के निर्णयहरु गर्नुभयो ? हामीले त त्यसबारे कतै केही सुन्न र महसुस गर्न पनि पाएनौं । तपाईलाई आफ्नै बोलीको सम्झना हुन्छ कि हुन्न ? तपाईले उद्घोष गरेको ‘नतिजा सुधार’ शिक्षकको क्षमता र कक्षाकोठाको अवस्था सुधार गरेर हुने हो कि शिक्षकहरुलाई कटाक्ष मात्र गरेर ?
प्रधानमन्त्री ज्यू, तपाईको औपाचरिक शिक्षाको बारेमा विभिन्न टिकाटिप्पणी हुने गरेका छन्, यद्यपी यथार्थ हामीलाई थाहा छैन । तर एक अनुमान पक्कै गर्न सकिन्छ कि तपाई विद्यालयका कक्षा कोठामा पढाइमा अब्बल विद्यार्थी पक्कै हुनुहुन्थेन । पढाइमा अब्बल विद्यार्थी विद्यालय तहमै पढाइ छोडेर राजनीतिमा पक्कै लाग्दैन । वर्तमान नेपालका अधिकाँश राजनीतिकर्मीहरु विद्यालय, विश्वविद्यालयका कक्षाका ‘ब्याकबेन्चरहरु’ नै हुन् । कक्षाका ब्याकबेन्चरहरु शिक्षकहरुप्रति कति नकारात्मक धारणा राख्छन् भन्ने कुरा सबैलाई थाहै छ । यद्यपी, विद्यालयमा पछिल्लो बेन्चमा बस्ने अपरिपक्व मगजले शिक्षकको भूमिका र महत्व बुझ्न नसक्नु खासै ठूलो समस्याको विषय हैन तर राज्यको विशिष्ट जिम्मेवारीमा पुग्दा पनि त्यो बुझ्न नसक्नु बिकराल समस्याको कुरा हो । राष्ट्रको अधोगतिको एक प्रमुख कारण यो पनि हो । अध्ययन छोडेर राजनीतिका विभिन्न जिम्मेवारी हुँदै सरकारका जिम्मेवार पदमा आसिन हुँदासम्म पनि शिक्षकलाई हेर्ने दृष्टिकोण उही ‘ब्याकबेन्चर’ अवस्थाकै रहिरहन्छ भन्ने कुरा शिक्षकप्रति तपाईले गर्नेगरेका कटाक्षहरुबाट प्रष्ट हुन्छ ।
प्रधानमन्त्री ज्यू, केही वर्ष अघि बालुवाटारको संवेदनशील सरकारी निवासमा भारतीय संस्थापन इतरको नीजि सञ्चारगृहका एक पत्रकारलाई बोलाएर नालन्दा विश्वविद्यालय देखि पूर्विय सभ्यताको गहन तथ्यहरुके सम्बाद तपाईंले गर्नुभयो । त्यो सुन्दा औपचारिक अध्ययनमा हास्यास्पद पात्र बनेका तपाईको अनौपचारिक अध्ययनको दायरा ज्यादै फराकिलो भएको अनुमान गरेर मनमनै हर्षित हुनेहरुमध्य म पनि थिएँ । मलाई उबेला लागेको थियो समाज र सभ्यता निर्माणमा शिक्षाको कस्तो भूमिका हुन्छ भन्ने विषय तपाईलाई पक्कै थाहा छ । दुई विश्वशक्ति छिमेकीहरु चीन र भारत को दु्रततर बिकासमा शिक्षाको कस्तो भूमिका छ ? त्यहाँ शिक्षण पेसालाई कसरी मर्यादित बनाइएको छ र शैक्षिक प्रणलीलाई कसरी व्यवस्थीत बनाइएको छ भन्ने विषयमा तपाई पक्कै जानकार हुनुहुन्छ । तर आजको दिनमा तपाईले देशका शिक्षक प्रति गरिरहेको कटाक्ष र शिक्षा प्रणालीप्रतिको उदासीनता देखेर तपाईको ज्ञानको दायरा कति साँघुरो रहेछ भन्ने कुरा बोध हुँदै गैरहेको छ ।
तपाईको धेरै कार्यकर्ताहरु तपाईको प्रतिरक्षाका लागि तर्क गर्छन् – विद्यालय विश्वविद्यालयको औपचारिक पढाइले मात्रै ज्ञान हासिल हुँदैन, जीवनका थुप्रै संघर्ष र अनौपचारिक अध्ययनबाट तपाईले अथाह ज्ञान सीप आर्जन गर्नुभएको छ । यदि यो तर्क साँचो हो र तपाईको पछिल्ला कटाक्ष पनि तर्कसङ्गत नै हुन भने शिक्षकले कसरी राम्रो राम्रो पढाउँछन भन्ने विषयको बोध पनि तपाईलाई पक्कै हुनुपर्छ । वर्तमानसम्मका परिक्षाका नतिजा हेर्दा हामी शिक्षकहरुलाई राम्रो पढाउन आउँदैन भन्ने तथ्य हामीले स्विकार्नैपर्ने देखिन्छ । यो अवस्थामा हामी तपाईको ज्ञान सीपबाट लाभान्वित हुन चाहन्छौं । प्रधानमन्त्रीज्यू ! हामीलाई सिकाइदिनुस् – राम्रो कसरी पढाउने ?
✍️ जनक रसिक
www.paschimpress.com